महेन्द्रनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले आज महेन्द्रनगरमा राजा महेन्द्रको सालिक राख्ने भएको छ । राप्रपाले आफ्नो पुर्व निर्धारित कार्यक्रम अनुसार भीमदत्त नगरपालिका – ४ स्थित संविधान चोकमा राजा महेन्द्रको सालिक राख्न लागेको जनाएको छ ।
राप्रपाका कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दले सालिक राख्नेको लागि सम्पूर्ण तयारी पुरा भएको बताए ।
उनले चोकमा राजा महेन्द्रको पुरानो सालिक जस्तै अष्ठधातुको सालिक राखिने बताए । उनले राजा महेन्द्रको इतिहास जोगाउन सालिक राखिने भएकाले सबै दललाई सहभागिताका लागि आग्रह गरे ।
सालिक अनावरण सँगै वृहत आमसभाको आयोजना गरिएको उनले बताए । उनले भने ‘हामीले पूर्व घोषित कार्यक्रम अनुरूप आमसभाको सम्पूर्ण तयारी पुरा गरिसकेका छौँ ।’ उनले आमसभामा सहभागिताका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाबाट सहभागि आउने बताए ।
आमसभामा सहभागि हुन कैलालीबाट मात्रै २५ बसमा सहभागि जाने बताइएको छ । आमसभा अघि ओपेरा होटेलबाट ¥यालि निकालेर बसपार्क हुँदै कार्यक्रम स्थलमा पुग्ने जनाइएको छ ।