शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका क्यामरा चोरी तथा तोडफोड

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका मध्ये ३ जोडी क्यामरा चोरी तथा तोडफोड भएका छन । निकुञ्जको बेलडाँडी र मालुबेला सेक्टरका क्यामरा तोडफोड तथा चोरी भएका हुन ।

निकुञ्जमा क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना तथा अनुगमनका लागि मंसिर अन्तिम साता ९२ जोडी स्वचालित क्यामरा जडान गरिएका थिए । तिनैमध्ये बेलडाँडी क्षेत्रमा ५ वटा क्यामरा चोरी भएका छन् ।

मालुबेला क्षेत्रमा एक क्यामरा हात्तीले तोडफोड गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले बताए । बाघ गणनाका लागि राखिएका क्यामरा यसै साता संकलन गरिएको हो । बेलडाँडी क्षेत्रमा पुस १३÷१४ गतेतिर क्यामरा चोरी भएको जोशीले बताए ।

मालबेला क्षेत्रमा पनि हात्तीले त्यही समय आसपास एक क्यामरा तोडेको उनले बताए । ‘बेलडाँडीमा दुई जोडी र एउटा क्यामरा चोरी भएको छ, सँगै रहेको अर्को क्यामराले काम गरेन,’ जोशीले भने, ‘एक क्यामरा हात्तीले फुटायो ।’ विगतका वर्ष पनि बाघ गणनाका लागि राखिएका स्वचालित क्यामरा चोरी हुने तथा वन्यजन्तुले नै फुटाउने गरेका थिए ।

वन्यजन्तु तथा काठ चोरीतस्करीमा संलग्नले क्यामरा चोरी गरेको आशंका गरिए पनि यसबारे कसैले अनुसन्धान गरेको छैन । निकुञ्ज कार्यालयले मंसिर २४ देखि बाघ गणना सुरु गरेको हो । निकुञ्जलाई २/२ वर्ग किलोमिटरका ९२ ग्रिडीमा विभाजन गरी त्यति नै क्यामरा जडान गरेको हो ।

जडान गरिएका क्यामराको नियमित अनुगमन तथा निगरानी गरिएको थियो । पुस १८ मा सबै क्यामरा संकलन गरिएको हो । गणनामा निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जुलोजिक सोसाइटी अफ लन्डन, हिमालय नेचरलगायतका प्राविधिक र हात्तीसमेत परिचालन गरिएको थियो ।

सन् २०२२ मा गरिएको राष्ट्रिय गणनामा बाघको संख्या दोब्बरले बढेर ३६ पुगेको थियो । हरेक चार वर्षमा राष्ट्रिय गणना गरिने भए पनि संख्या कम भएको तथा चोरीसिकार हुने जोखिम भएको क्षेत्रमा हरेक वर्ष बाघ गणना हुँदै आएको छ ।

शुक्लाफाँटा २०२१ देखि नियमित रूपमा गणना हुँदै आएको हो । राष्ट्रिय गणनामा संरक्षित क्षेत्रसँगै बाघ पाइने अन्य क्षेत्रमा पनि क्यामरा जडान गरिएको थियो ।

Deep Jyoti Pustak psl
Loading...