सुदूरपश्चिममा एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यका उम्मेदवारको नाम

धनगढी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका राष्ट्रियसभाका लागि तीन जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

प्रदेश कमिटिले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले तीन जना उम्मेदवारको नाम टुंगो लगाएको एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । उनकाअनुसार खुल्ला तथा अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र आपांगतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

प्रदेश कमिटिले जिल्लाबाट आएका आकांक्षीहरुका नाम मध्येबाट ९ जनाको नाम रायसहित केन्द्रीय कमिटिलाई सिफारिस गरेको थियो ।

केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटिले गरेको सिफारिस मध्येबाट तीन जनाको नाम टुंगो लगाएको हो । राष्ट्रियसभा सदस्यमा निर्वाचित सुदूरपश्चिम प्रदेशका तीन जनाको कार्यकाल अगामी २० फागुनमा सकिदैछ । रिक्त हुने सिटका लागि एक महिना अगाडि निर्वाचन गर्नुपर्ने कानुनी प्रावधानअनुसार निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्दैछ । त्यसका लागि सोमबार(भोलि) उम्मेदवारको मनोनयनको समय तोकिएको छ ।

राष्ट्रियसभामा स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभाका सांसद मतदाता हुन्छन् । स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ र प्रदेशभाका सांसदको मतभार ५३ कायम गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतभार तीन हजार तीन सय ४४ र ५२ (एउटा सिट रिक्त बाहेक) प्रदेशसभा सदस्यको मतभार दुई हजार ७५६ गरेर कुल मतभार ६ हजार एक सय रहेको छ ।

जसमा नेपाली कांग्रेसको मतभार दुई हजार ५८८, नेकपा एमालेको मतभार एक हजार ४८०, नेकपा माओवादी केन्द्रको मतभार एक हजार ५८, नागरिक उन्मुक्ति पार्टीको मतभार ५०४, नेकपा एकीकृत समाजवादी पार्टीको मतभार ३०७, स्वतन्त्रको मतभार ११० र राप्रपाको मतभार ५३ रहेको छ । यहाँ सत्तारुढ गठबन्धनसँग मात्र कुल मतभार ७३ प्रतिशत अथात् चार हजार ४५७ रहेको छ ।

Dhangadhi 2081
Loading...