धनगढी विमानस्थलको उडान दुई दिनदेखि ठप्प, उडान ठप्प भएपछि यात्रुहरू समस्यामा

धनगढी : कैलालीको धनगढी विमानस्थलको उडान दुई दिनदेखि ठप्प भएको छ। धनगढीसहित पश्चिम तराइमा हुस्सु लागेपछि उडान प्रभावित भएको हो।

धनगढी विमानस्थल कार्यालयका अनुसार शुक्रवार बिहान श्री ऐयरको विमान धनगढीबाट काठमाडौँ गएको छ। तर, काठमाडौँबाट धनगढी विमान आएका छैनन्।

बिहिवार साँझ धनगढी आएको श्री ऐयर शुक्रवार बिहान काठमाडौँ फर्किएको हो। धनगढी विमानस्थल क्षेत्रमा न्यूनतम भिजिविलिटीसमेत नभएकाले विमान अवतरण गर्न समस्या भएको छ। धनगढी विमानस्थल क्षेत्रमा एक हजार र एक हजार सय सय मिटरको मात्र भिजिबिलिटी रहेको छ।

विमान अवतरणका लागि विमानस्थल क्षेत्रमा कम्तीमा एक हजार सात सय मिटरको भिजिविलीटी आवश्यक हुन्छ। विमानस्थल क्षेत्रमा जडान गरिएको भिओआरडिएमइ उपकरणलेसमेत एक हजार सात मिटर भिजिबिलिटी भएमात्र विमान अवतरणका लागि सहयोग गर्ने कार्यालयले जनाएको छ।

धनगढीमा हुस्सु र शीतलहर कम भए मात्र विमान अवतरण हुने कार्यालयले बताएको छ। कैलालीको धनगढी विमानस्थलबाट दैनिक श्री ऐयरका चार र बुद्ध ऐयरले दुई वटा उडान भर्दै आएको छ।

धनगढी विमानस्थलको उडान ठप्प भएपछि यात्रुहरूलाई समस्या भएको छ। बिरामी तथा वृद्धहरूले बढी दुःख पाएका हुन्।

Loading...