धनगढी : नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । भोली असोज २१ र २२ गते धनगढीमा आयोजना हुने प्रदेश अधिवेशनको तयारी पुरा भएको प्रदेश कमिटि तथा अधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै मूल व्यवस्थापन समितिले अधिवेशनको तयारी पुरा भएको बताउदै ६७५ जना प्रतिनिधिको सहभागिता रहने जनाएको हो । पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले प्रथम प्रदेश अधिवेशनका लागि छनौट भएका ९ वटै प्रदेशका प्रतिनिधिहरु धनगढी पुगिसकेको जानकारी दिए ।
अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली उद्घाटन गर्नेछन् । ओली आइतबार विहान ८ बजेको बुद्ध एयरको जहाजमार्फत धनगढी आउने बताउदै भण्डारीले दिउसोको १२ बजे अधिवेशनको औपचारिक उद्घाटन हुने बताए ।
अधिवेशनमा ओलीसंगै पार्टीका महासचिव शंकर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वर्मा, स्थायि कमिटि सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायि कमिटि सदस्य तथा खेलकूद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रिय सदस्यहरुको सहभागिता रहने प्रदेश कमिटिले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टीको प्रदेश नेतृत्व आपसी समझदारीका आधारमा चुन्ने प्रयास गरिने बताए । अन्य प्रदेशमा जस्तो सुदूरपश्चिममा केन्द्रीय कमिटिबाट प्रतिस्पर्धाका लागि नेताहरु प्रतिनिधिका रुपमा नआएकाले प्रदेशस्तरकै नेताहरुबाट नेतृत्व चयन हुने बताउदै उनले सर्वसम्मतको प्रयत्न हुने बताए ।
सर्वसम्मतको प्रयास सफल नभए समूहगत नभएर व्यक्तिगत रुपमा नेताहरुले आकांक्षा राखेका पदमा प्रतिस्पर्धा गर्ने विकल्प खुल्ला रहेको उनी बताउँछन् । एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा नेताहरु वचनबहादुर सिंह, कृष्णप्रसाद जैशी र अहिलेका प्रदेश कमिटि उपाध्यक्ष कमल तिमिल्सिनाले दाबी गरेका छन् ।
