काठमाडौं : दशैंका लागि आजदेखि सार्वजनिक सवारी साधनमा अग्रिम टिकट बुकिङ खुला भएको छ ।
सोमबार बिहानैबाट नयाँ बसपार्क, कलकी, कोटेश्वर, चाबहिल छेत्रमा टिकट बुकिङ गर्ने यात्रुको भिड लागेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो ।
बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दशैं, तिहार र छड पर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् ।
आवागमनलाई सहज बनाउन वर्षाका कारण बिग्रेका सडकको मर्मत तत्काल गर्न पनि मन्त्री ज्वालाले निर्देशन दिइसकेका छन् ।
टिकट कालोबजारीमा बिक्री हुन नदिन अनुगमन तीव्र पारिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए । त्यस्तै, काठमाडौ महानगरपालिकाको सहयोगमा १० सहित १६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
जहाँ प्रहरी,यातायात व्यवस्था विभागका कर्मचारी लगायतले यात्रुलाई परेको समस्या समाधान गर्न सहयोग गर्ने छन् । त्यस्तै यात्रुले नागरिक सहायता कक्षमा गएर टिकट बुकिङ भएको समस्या र गुनासा राख्न सक्ने छन् ।
