सुदूरपश्चिमले जित्यो अन्डर-१९ राष्ट्रिय टी-ट्वान्टी क्रिकेटको उपाधि

धनगढी : सुशील कोइराला मेमोरियल अन्डर-१९ राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । कोहलपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेय-११ लाई २ विकेटले पराजित गर्‍यो ।

कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुर मेयर-११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो । अन्तिम बलमा १ रन आवश्यक हुँदा हिसिला खड्काले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जिताइन् ।

सुदूरपश्चिमको लागि ओपनर मनिषा बोहराले सर्वाधिक ४१ रन बनाइन् । प्लेयर अफ द म्याच घोषित बोहराले ४१ बलमा ५ चौका प्रहार गरिन् । कप्तान स्नेहा महराले १६ रन, निलम पाण्डेले ९ रन, रबिना साउद र अनु कडायतले समान ८ रन तथा हिसिला खड्काले अविजित ६ रन बनाए।

यसअघि टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो। सुदूरपश्चिमको बलिङमा अनु कडायत र स्नेहा महराले २\२ विकेट लिए ।

उपाधि सहित सुदूरपश्चिम प्रदेशले एक लाख रुपैयाँ हात पार्‍यो । उपविजेता कोहलपुर मेयर-११ ले पचास हजार रुपैयाँ प्राप्त गर्‍यो ।

Loading...