अत्तरिया : नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा अझैसम्म पनि सहमतिका लागि प्रयास जारी गरेको एमाले नेताहरूले दाबी गरिरहेका छन् ।
आइतबार अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार रातभर सहमतिको प्रयास गर्न र नभए सोमबार बिहानैदेखि निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।
सहमतिबाट टुङ्गग्याएको उम्मेदवारलाई आफ्नो पनि समर्थन रहेको बताउँदै अध्यक्ष ओलीले सहमति जुट्न नसके सोमबार बिहानैबाट निर्वाचन अगाडि बढाउन निर्देशन दिएका थिए ।
सोमबार बिहानै चुनाव गर्न ओलीले दिएको निर्देशन मङ्गलवार बिहानसम्म पनि कार्यान्वयन भएको छैन । अहिलेसम्म निर्वाचन प्रक्रिया नै सुरु नभएको हुँदा बुधवार मात्रै चुनाव हुने सङ्केत देखिएको छ ।
‘अहिले हामी निर्वाचन प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरिरहेका छौँ उम्मेदवारको उम्तिन नामावली प्रकाशन गर्दा सम्म ७्८ घण्टा लाग्न सक्छ’ अहिले अध्यक्षका उम्मेदवार समेत रहेका कार्यबहाक अध्यक्ष दुर्गा जोशीले भने ‘निर्वाचन प्रक्रिया पनि सुरु गर्छौ, सर्वसम्मतको प्रयास पनि जारी रहन्छ ।’
अधिवेशन सुरु भएको दोस्रो दिन बितिसक्दा सम्म पनि निर्वाचन प्रक्रिया सुरु नहुँदा तेस्रो दिनमा पनि चुनाव हुने सम्भावना करिब क्षीण भएको छ । एमाले कैलाली इन्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य गणेश ठगुन्नाले सहमतिको प्रयास गर्ने नभएर भोली बिहान सम्म निर्वाचन गर्ने गरि तयारी भइरहेको बताए ।
‘आज बिहान ९ बजदेखी दोस्रो दिनको बन्द सत्र सुरु भएको र आजै टुङ्गो लगाउने प्रयास हुन्छ’ उनले भने ‘नभए भोली बिहान चुनाव हुन्छ ।’ निर्वाचन प्रक्रिया सुरु भएपछि पनि सहमतिको प्रयास जारी राख्ने अन्तिममा नभए निर्वाचन गर्ने ठगुन्नाले बताए ।
पाँच पदमा ५३ आकाङ्क्षी, अध्यक्षमै तीन जनाको दाबी
नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा आकाङ्क्षीहरूको लर्को लागेको छ । पाँच पदाधिकारीमा ५३ जनाले दाबी गरेका छन् । सहमतिमा जिल्लाको नेतृत्व चयन गर्ने भन्दै ३ फागुनमा अध्यक्षसहितका पाँच पदाधिकारीका आकाङ्क्षीसँग इच्छा पत्र मागेको थियो ।
अध्यक्षमा तीन जनासहित कुल पदाधिकारीमा ५३ जनाले इच्छा पत्र दर्ता गराएका थिए । ४ र ५ फागुनमा आकाङ्क्षीका बिचमा सहमति खोजिने भनिएको थियो तर अधिवेशनको बन्द सत्र सुरु भइसक्दा पनि सहमति जुटेको छैन ।
औपचारिक, अनौपचारिक रुपमा माथिल्लो तहका नेता र आकांक्षीकाबीचमा छलफल भइरहेको बताइए पनि अहिलेसम्म कुनै कुराको टुङ्गो नलागेको एमाले नेताहरू बताउँछन् ।
अध्यक्षमा अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले आकांक्षा राखेका छन् । तर उनीहरूबिच नै छलफल नभएकाले उपाध्यक्ष, सचिव र दुई उपसचिवको विषयमा छलफल नै सुरु भएको छैन ।
उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् । सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन् ।
२ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् । उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन् ।
त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् ।