अत्तरिया : नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि हुने भनिएको मतदान अझै सुरू हुन सकेको छैन् । बिहीबार दिउँसो १२ बजेदेखि हुने भनिएको मतदान अझै सुरू भएको छैन् । निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावली भने अहिले ४ बजे सार्वजनिक गरेको छ । तर मतदान आज हुने या भोली हुनेमा अनिश्चित छ ।
निर्वाचन कमिटीले बिहीबार बिहान साढे ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र १२ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यसूची तोकेको थियो तर ४ बजे उम्मेदवारको अन्तिम नामावली मात्रै सार्बजनिक गरिएको छ । निर्वाचन कमिटीका अनुसार मतदान भोली हुने भएको छ । आधिकारिक निर्णय सार्वजनिक गरिएको छैन तर मतदान भोली हुने निर्वाचन कमिटीको भनाई छ । राती हुने भएकाले सुरक्षाका हिसावले भोली नै निर्वाचन हुने अनुमान गरिएको छ ।
अधिवेशन प्रतिनिधि मतदान साझ हुने भन्दै लाईनमा समेत लागेका थिए । निर्वाचनका लागि मतपत्र छापेर तयारी अवस्थामा राखिएको जनाईएको छ । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले भने सम्पर्क विहीन भएका छन् । उनको प्रतिक्रिया लिन पटक-पटक सम्पर्क गर्दा समेत फोन उठाएका छैनन् ।
फागुन ६ गते केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । ओलीले आइतबार रातभर सहमतिको प्रयास गर्न र नभए सोमबार बिहानैदेखि निर्वाचन गरेर टुंगो लगाउन निर्देशन दिएर गएका थिए तर अधिवेशन सुरू भएको पाँच दिन बित्दा समेत नेतृत्व चयनका लागि हुने भनिएको मतदान अझै अनिश्चित छ ।
एमाले कैलालीमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्वप्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगानाले प्रतिस्पर्धा गर्दैछन् । अध्यक्षमा उम्मेदवारी दिएका जिल्ला कमिटी सदस्य कमलसिंह रानाले भने पाण्डेलाई समर्थन गर्दै फिर्ता लिएका छन् ।
पाँचौ दिनसम्म समेत मतदान सुरू नभएपछि अधिवेशन प्रतिनिधि समस्यामा परेका छन् भने उनीहरूले चाडो मतदान गर्नुपर्ने माग गर्दै आज निर्वाचन स्थलमा नारावाजी गरेका थिए ।
उनिहरुले निर्वाचन समितीका सदस्यहरु बसेका र मतदान हुने सभाहलमा तालाबन्दी समेत गरेका थिए । तालाबन्दी गरेर समयमै मतदान गर्नुपर्ने माग गर्दै नाराबाजी समेत गरेका थिए ।