कैलालीका काँग्रेस सभापति र उपसभापतिबिच माइन्युट खोसाखोस भएपछी…

धनगढी : नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट र उपसभापति भीम बडुवालबिच माइन्युट खोसाखोस भएको छ ।

बिहीवार मोहन्याल गाउँपालिका–१ चोसेकाँडामा जिल्ला कार्यसमितिको बैठक बोलाइएको थियो । बैठकमा उपसभापति बडुवालले माइन्युटमा आफ्नो नाम नराखिएको भन्दै खोसेपछि विवाद भएको हो ।

उपस्थितिमा आफ्नो नाम नराखिएपछि उनले माइन्युट खोसेका थिए । बडुवालले खोसेको माइन्युट सभापति भट्टले फिर्ता माग्दा उनले दिएनन् । अनुशासनको कारबाही गरिएका उपसभापति बडुवालले आफ्नो कारबाही फुकुवा भइसकेको बताउँदै कार्यसमितिको बैठकमा नबोलाइएको बताए ।

सभापति भट्टले अनुशासन समितिले कारबाही गरेकाले बडुवाललाई बैठकमा नबोलाएको बताए । उपसभापति बडुवालले लेटर प्याडको दुरुपयोग गरेको भन्दै कारबाही गरिएको थियो ।

प्रदेशले जिल्लाको कारबाही खारिज गरेको भनिएको थियो । तर, सुदूरपश्चिम प्रदेश अनुशासन समितिबाट पत्र प्राप्त नभएको भट्टको तर्क छ । बैठक नबस्दै भएको विवाद र कोरम नै नपुगेपछि कार्यसमितिको बैठक स्थगित गरिएको छ ।

बैठकमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पनि उपस्थित थिए ।

Dhangadhi 2081
Loading...