संघर्ष समिति र क्याम्पस प्रशासनबिच वार्ता भएपछी कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीको रिले अनसन स्थगित
अत्तरिया : कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीले रिले अनसन स्थगित गरेका छन् । विद्यार्थीका समस्या समाधानका लागि संघर्ष समिति गठन गरेर बिहीवारबाट अनिश्चितकालीन रिले अनसन बसेका उनीहरुले शुक्रवार अनसन स्थगित गरेका हुन् ।
संघर्ष समिति र क्याम्पस प्रशासनबिच उक्त क्याम्पसमा विद्यार्थीहरुले भोग्दै आएका विभिन्न समस्याहरुबारे वार्ता गरी विभिन्न विषयमा सहमति भएको समितिका संयोजक तेजजंग मल्लले बताए । उनले सहमति कार्यान्वयनमा निरन्तर खबरदारी गरिने पनि बताएका छन् ।
क्याम्पसमा सञ्चालित क्लबहरु विश्वविद्यालयको कार्यविधि अनुसार गठन नभएकालाई विघटन गरी कार्यविधि अनुसार चैत्र महिनाभित्र पुनः गठन गर्ने, प्रत्येक सेक्सनबाट उत्कृष्ट अंक ल्याउने छात्रछात्रा मध्येबाट प्रतिनिधि हुने गरी भेला गर्ने, विद्यार्थीका अतिरिक्त क्रियाकलाप लगायत अन्य व्यवस्थापनमा गरिने खर्चको सन्दर्भमा क्रियाकलापको औचित्य र आवश्यकता हेरी सहायक क्याम्पस प्रमुखको सिफारिस अनुसार क्याम्पस प्रमुखले भुक्तानी दिने लगायतका ८ बुँदामा सहमति भएको जनााइएको छ ।
