धनगढी : नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएको छ ।
बुधबार बिहान बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । मंगलबार मात्र मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका सरकारमा सहभागि मन्त्रीलाई हटाएका थिए ।
मुख्यमन्त्री शाहले माओवादीबाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका रमेश धामी र राज्य मन्त्री गीता माललाई हटाएका थिए ।
माओवादी संसदीय दलका नेता मनबहादुर धामीले बैठकको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । सुदूरपश्चिममा माओवादीका सभामुख सहित ११ सांसद छन् । माओवादीले समर्थन फिर्ता लिँदा पनि सरकार भने बहुमतमै रहेको छ ।
अहिलेसम्म कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन कांग्रेस नेतृत्वको सरकारलाई छ । यहाँ कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।