परशुरामका उपमेयर र दुई वडा अध्यक्ष पक्राउ

परिगाउँ : डडेल्धुराको परशुराम नगरपालिकाका उपमेयर र दुई जना वडा अध्यक्ष पक्राउ परेका छन् । उनीहरु कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दिपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा नगरपालिकाका उपमेयर विमला कुमारी बोहरा, ७ नम्बर वडाका वडाध्यक्ष कर्णबहादुर धामी र वडा नम्बर १ का वडाध्यक्ष लालबहादुर धामीलाई पक्राउ गरिएको हो ।

तीनै जनालाई पक्राउ गरि थप अनुसन्धान थालिएको डिएसपी कार्कीले बताए । आज (बिहीबार) भएको कार्यपालिका बैठकमा सदस्यहरुले बिरोध गर्दै जोशीमाथि कुटपिट गरेका थिए । नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी बिष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए ।

आजको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए । सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए ।

यस्तै केही समयअघि नगरपालिकाकी उपप्रमुख बिमलाकुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेकी थिइन् । तर, असफल भएपछि अधिकृतिसँग उनले रिसिइवी राखेको बताइएको छ । उपप्रमुख माओवादी केन्द्रबाटै विजयी भएकी हुन् ।

Loading...