अत्तरिया : डोटीमा जिप चालक र मोटरसाइलमा सवार केटाहरुबिच झगडा भएको छ ।

प्रहरीका अनुसार बुडर नजिकै भीमदत्त राजमार्गमा म१च ६३० नम्बरको जिपका चालक र म३प १५०० नम्बरको मोटरसाइकलमा सवार केटाहरुबिच झगडा भएको हो । जिपका चालकसहित दुई र मोटरसाइकलमा पनि दुई जना सवार रहेका बताइएको छ ।
उनीहरुबिच वादविवाद भई झगडा हुँदा मोटरसाइकलमा सवार जोरायल गाउँपालिका–१ का २६ वर्षीय रमेश भारती घाइते भएका डोटी प्रहरीले बताएको छ । उनको धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।
वादविवादका क्रममा धक्कामुक्का हुँदा रोडमा लडेर भारती घाइते भएका उनले बताए । जिपका चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ का मोहन विष्टसहित ३ जनालाई नियन्त्रणमा लिइएको उनले बताए । झगडाको कारण भने खुलेको छैन ।
