काठमाडौं : चालु आर्थिक वर्षको मङ्सिरमा ८४ हजारभन्दा बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो चालु आव २०८१/८२ को पाँच महिनायताकै सबैभन्दा बढी हो ।
वैदेशिक रोजगार विभागका अनुसार मंसिरमा ८४ हजार २२७ जनाले र सबैभन्दा कम असोजमा ५३ हजार ४२५ जनाले श्रम स्वीकृति लिएका छन् । साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ जना र कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आवको यो अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने १८.६८ प्रतिशतले बढेको छ । गत आवको यो अवधिमा दुई लाख ७४ हजार ५१७ जनाले श्रम स्वीकृति लिएकोमा चालु आवको यो अवधिमा तीन लाख २५ हजार ८१० जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ । यो सङ्ख्या गत आवको तुलनामा चालु आवमा ५१ हजार २९३ जनाले बढी हो ।
चालु आवमा वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा धेरै कात्तिक र मङ्सिरमा श्रम स्वीकृति जारी भएको विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए । पछिल्लो पटक नयाँभन्दा पनि बिदामा आएर पुनः जानेको सङ्ख्या धेरै भएकाले पनि विगतको तुलनामा सङ्ख्या बढेको उनले बताए ।
मलेसिया जाने नेपाली श्रमिकको सङ्ख्या घटे पनि गत आवदेखि नै यूएई, कतार र साउदी अरब जानेको सङ्ख्या बढेसँगै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको विभागले जनाएको छ ।