अत्तरियामा आजदेखी सृजनशील गोदावरी साँस्कृतिक महोत्सव सुरु

गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टद्धारा उद्घाटन

अत्तरिया : कैलालीको अत्तरियामा ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ सुरु भएको छ । न्यु सृजनशील युवा क्लबको आयोजनामा आजदेखि महोत्सव सुरु भएको हो । महोत्सवको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका छ्न । महोत्सव उद्घाटन अघि अत्तरिया बजारमा र्याली सहित बजार परिक्रमा गरिएको थियो ।

आजदेखी सुरु भएको महोत्सव पुस १९ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा १८० स्टल रहेका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने आयोजकले जनाईएको छ ।

अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १ सय रुपैयाँ टिकट दर तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निस्शुल्क गरिएको छ । महोत्सवमा विक्री हुने प्रत्येक टिकटको ५ प्रतिशत अनाथ बालबालिकालाई सहयोग गर्ने र महोत्सवबाट भएको नाफा रकमबाट पनि सामाजिक काम गरिने आयोजक सृजनशिल युवा क्लबका अध्यक्ष नर बहादुर राईले बताएका छन् । आज उद्घाटनको दिन भने महोत्सव स्थलमा निःशुल्क प्रवेश रहेको थियो ।

 

महोत्सवको सुरक्षाको लागि क्लबका युवाहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी सँग समन्वयन गरिएको उनले बताए । नयाँ ठाउँमा महोत्सव स्थल तयार गर्न आफूहरू सफल भएको बताउदै अध्यक्ष राईले महोत्सव सम्पन्न गर्न आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । जसमा एक करोड कारोबार हुने अपेक्षा लिइएको छ । महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको अध्यक्ष राईले बताएका छन् ।

अत्तरियामा २ वर्षको अन्तरालपछि महोत्सव आयोजना भएको छ । २०६७ सालदेखि २०७१ साल सम्म अत्तरियामा महोत्सव आयोजना गर्दै आएको न्यु सृजनशील युवा क्लबले २०७२ सालमा अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको थियो । २०७२ देखि २०८० सम्म भने अत्तरिया उद्योग वाणिज्य संघले अत्तरियामा ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ आयोजना गरेको थियो । उद्योग वाणिज्य संघमा भएको आन्तरिक विवादका कारण संघले महोत्सवलाई निरन्तरता दिन नसकेपछि फेरि क्लबले यस वर्ष नयाँ व्यवस्थापनका साथ ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ आयोजना गरेको हो ।

यस पटकको महोत्सवको स्थान पनि परिवर्तन भएको छ । यसअघि अत्तरियामा रहेको लामिताल क्षेत्रमा महोत्सव आयोजना हुने गरेकोमा यस वर्ष लामितालको दक्षिण पट्टि रहेको सुरक्षा सामुदायिक वनको खुला चौरमा महोत्सव सञ्चालन भएको छ ।

Loading...