अत्तरिया : कैलालीको अत्तरियामा नेपाल-भारत सीमावर्ती जिल्लाहरूका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेतृत्वको बैठक सम्पन्न भएको छ ।
दुई देशको खुला सीमाका कारण हुन सक्ने सीमा अपराध र शान्ति सुरक्षाको चुनौती एवं स्थानीय स्तरका समस्याहरूको छलफल गर्न तीन जिल्लाका सिडिओ नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू बिच नियमित समन्वयात्मक बैठक सम्पन्न भएको हो ।
बिहीबार सम्पन्न बैठकमा भारतीय सीमावर्ती जिल्ला लखिमपुर खीरीका जिलाधिकारी दुर्गा शक्ति नागपाल, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन कोइराला लगायत जिल्ला स्तरका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
उक्त बैठकमा आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई समेत मध्यनजर गरी खुला सीमाका कारण हुन सक्ने सीमा अपराध र शान्ति सुरक्षा सम्बन्धी एवं स्थानीय स्तरका द्विपक्षीय समस्याहरूको समसामयिक विषयहरूमा छलफल भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।
