भ्रष्टाचारविरुद्ध कारबाही गर्न मेरो उम्मेदवारी होः आले

धनगढी : नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कैलाली क्षेत्र नं. ५ का उम्मेदवार प्रेमबहादुर आलेले भ्रष्टाचारविरुद्ध कठोर कारबाही गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

सोमबार निर्वाचन क्षेत्रका विभिन्न वडामा निर्वाचन परिचालन सचिवालय उद्घाटन गर्दै उनले पोखरा र भैरहवा विमानस्थलमा भएको भनिएको भ्रष्टाचारको विषय उठाउँदै आफूले सार्वजनिक लेखा समितिदेखि सदनसम्म आवाज उठाएको स्मरण गरे।

उनले ती प्रकरणमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए। पूर्वमन्त्रीसमेत रहेका आलेले भ्रष्टहरूलाई राज्यले संरक्षण गरेकै कारण अहिलेको अवस्था आएको उल्लेख गर्दै समयमै कारबाही भएको भए जेनजी आन्दोलन नआउने दाबी गरे।

उनले जेनजी युवाहरूले उठाएको आवाजप्रति सम्मान व्यक्त गरे। आफूले विगतमा जनमुखी काम गरेकै कारण डोटीबाट लगातार तीन पटक निर्वाचन जितेको उल्लेख गर्दै उनले अब पनि जनताको सेवामा निरन्तर खट्ने प्रतिवद्धता जनाए।

उनले धनगढी–खुटिया–विपीनगर–दिपायल हुँदै उरैभञ्ज्याङ जोड्ने सडक अझै अपूरो रहेको भन्दै त्यसको स्तरोन्नतिका लागि पहल गर्ने बताए। उक्त सडक निर्माणपछि रोजगारीका अवसरहरू बढ्ने उनको भनाइ थियो।

नेता आलेले निर्वाचन क्षेत्रको समग्र विकास तथा जेनजी युवाहरूको रोजगारीका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै, आफूलाई ‘टुरिष्ट उम्मेदवार’ भन्ने आरोपको खण्डन गर्दै विगत २७ वर्षदेखि धनगढीमा स्थायी रूपमा बसोबास गर्दै आएको बताए।

चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै आलेले सोमबार कैलारी गाउँपालिका–६ र ९ तथा धनगढी उपमहानगरपालिका वडा नं. ५, ६, ८, १२ र १६ मा निर्वाचन परिचालन सचिवालय उद्घाटन तथा तयारी बैठक सम्पन्न गरेका छन्।

Deep Jyoti Pustak psl
Loading...