आजदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी विद्यार्थी सहभागी हुने

सुदूरपश्चिमबाट ५३ हजार ९७३ परीक्षार्थी सहभागी हुने

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैं देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु भएको छ ।यही चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् ।

परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिंदै छन् ।

परीक्षाको पहिलो दिन आज परीक्षार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । यस्तै, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी, विद्युतीय उपकरणलगायत प्रयोग गर्न पाइनेछैन । यस वर्ष परीक्षालाई थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ। उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने गृहकार्य भइरहेको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सम्पन्न गरिसक्ने योजना छ । उत्तरपुस्तिका परीक्षक र संपरीक्षकलाई परीक्षण केन्द्रमा नै रहेर परीक्षण गर्न भनिएको छ । परीक्षण केन्द्र रहेको विद्यालय भवनको सम्भव भएसम्म सिसिटिभी जडान भएको सुरक्षित कक्षमा परीक्षण र संपरीक्षण गराउने व्यवस्था गरिएको छ भने परीक्षण केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, तोकिएका परीक्षकको सट्टामा अन्यले परीक्षण गर्ने, तोकिएको योग्यता नपुगेका शिक्षकले परीक्षण गर्ने, उत्तरपुस्तिकाको पोका हराउन वा मिसिन सक्ने जस्ता अनियमितता रोक्ने प्रबन्ध गरिएको छ ।

यस वर्ष एसईई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । अनुगमनका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

एसइईमा सुदूरपश्चिमबाट ५३ हजार ९७३ परीक्षार्थी सहभागी हुने

एसइईमा सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७३ परीक्षार्थीसहभागी हुने भएका छन । जसमा नियमिततर्फका ४० हजार ९७३, प्राविधिक धारका एक हजार ७७८ र ग्रेड वृद्धितर्फका ११ हजार ४८५ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

एसइईमा सबैभन्दा बढी कैलालीबाट १८ हजार २७८ परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन । यसैगरी, कञ्चनपुरका १० हजार ८९७, बैतडीका ४ हजार ५२९, अछामका चार हजार ४५१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने जनाइएको छ । त्यस्तै, डोटीका तीन हजार ३१४, दार्चुलाका तीन हजार ५६८, बझाङका तीन हजार ४२१ परीक्षार्थीले एसईई दिने निर्देशनालयले जानकारी दिएको छ । सबैभन्दा कम बाजुराबाट दुई हजार ४२६ जना परीक्षार्थी एसईईमा सहभागी भइरहेका जनाइएको छ ।

प्रदेशभर २२१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन २२१ केन्द्राध्यक्ष, ३७३ सहायक केन्द्राध्यक्ष तथा २ हजार ७२८ जना निरीक्षक परिचालन गरिनेछ । साथै, प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३ हजार ३१५ जना प्रहरी खटाइने तयारी गरिएको छ । यसबाहेक ४६९ जना परीक्षा सहायक र १ हजार १०३ जना सहयोगी कर्मचारी पनि परिचालन गरिने निर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।

कैलालीबाट १८ हजार विद्यार्थी एसइईमा सहभागी हुदै

Loading...