अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजार क्षेत्रमा शुद्ध खानेपानीको मेसिन जडान गरेको छ । केदार ग्रुपसंगको समुन्वयमा नगरपालिकाले बजार सहितका पाँच स्थानमा खानेपानी मेसिन (वाटर वार्ड) जडान गरि तातो, सादा र चिसो शुद्ध खानेपानीको व्यवस्था गरेको हो ।
नगरपालिकाले अत्तरिया बसपार्कमा, पुर्वरोड प्रहरी कार्यालयको अगाढी, गोदावरी नगरपालिकाको कार्यालयको प्रांगणमा, वडा नम्बर १ को कार्यालय भित्र र मालाखेती अस्पतालमा शुद्ध खानेपानीको मेसिन जडान गरेको जडानको जिम्मा पाएको केदार ग्रुपका प्रबन्धक श्याम बमले बताए ।
स्वास्थ जीवनका लागि शुद्ध पानी भन्ने मूल नारालाई मध्यनजर गर्दै नगरपालीकाको आर्थिक सहयोगमा केदार ग्रुपले खानेपानी मेसिन सहितको टंकी जडान गरेको उनले बताए । उनले एक बर्ष सम्म वारेन्टी,ग्यारेन्टी हुने गरी ग्रुपले रुटिङ अनुसार हेरचाह र सर्भिस गर्ने सम्झौता भएको बताए ।
टंकिमा पानि भरिने बित्तिकै आफै अटोमेटिक बन्द हुने र एक गिलास पानि निकाल्ने बित्तिकै एक गिलास पानी जम्मा हुने सिस्टम बनाईएको मेसिन जडान गरिएको केदार ग्रुपका प्रबन्धक बमले जानकारी दिए । पाँचओटै स्थानमा १५० लिटरको शुद्ध खानेपानीको ट्याङ्की राखिएको छ ।
तराईका जिल्लामा गर्मी मौसममा असाध्यै गर्मी तथा हिउँदको समयमा कठ्याङ्ग्रिने जाडोलाई मध्यनजर गर्दै नगरपालिकाले शुद्ध खानेपानीको ब्यावस्थापन गरेको जनाएको छ ।
