धनगढी : सर्च अपरेसनसहित लागुऔषध कारोबारी समातेर कारबाही गर्ने नेपाल–भारत सीमा जिल्लाका सुरक्षा अधिकारीबिच सहमति भएको छ।
हिजो (शनिबार) नेपाल–भारत सीमा जिल्लाका सुरक्षा अधिकारीको समन्वय बैठकमा यस्तो सहमति भएको हो। भारतमा हुन लागेको लोकसभा निर्वाचनमा सुरक्षा सवाल, लागूऔषध नियन्त्रण, सीमा क्षेत्रका सुरक्षाकर्मीले गर्ने व्यवहार लगायतका सवालमा छलफल भएको छ। भारतमा १३ मे मा हुन लागेको लोकसभा निर्वाचनका क्रममा सीमा सुरक्षा प्रबन्धका सवालमा छलफल भएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए।
७२ घण्टा अगाडिदेखि सीमामा आवतजावत बन्द गर्ने कुरा भएको उनले बताए। प्रजिअ मिश्रले आफ्नो पक्षले लागूऔषधको कारोबार तथा प्रयोगको नियन्त्रणलाई पनि प्रमुख चासोका साथ उठाएको र भारतीय सुरक्षा अधिकारीहरु त्यसमा सहमत भएको बताए। त्यसका लागि दुवै पक्षले सर्च अपरेशनलाई थप प्रभावकारी बनाउने समझदारी भएको उनको भनाइ छ।
दुबै पक्षले कारोबारीहरुको सूची तयार गरेर कारबाही सशक्त बनाइनुका साथै सीमा नाकामा सुरक्षाकर्मीहरुले गर्ने व्यवहारबारे पनि गम्भीर समीक्षा भएको उनले बताए। बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्र, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, दुवै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरु सहभागी थिए।
सीमा क्षेत्रमा वन्यजन्तुको चोरी तस्करी नियन्त्रण, भन्सार तथा राजस्व छली एवं ओसारपसारका सन्दर्भहरुमा पनि दुवै पक्षका सम्बन्धित निकायका अधिकारीहरुबिच छलफल गरि आवश्यक समन्वयको समझदारी भएको मिश्रले बताए।
सुरक्षा समन्वय बैठकको आयोजना भारतीय पक्षका सुरक्षा निकायले गरेका थिए। बैठकमा भारतीय पक्षको नेतृत्व पलिया क्षेत्रका डीएम महेन्द्रबहादुर सिंहले गरेका थिए।