धादिङ : सुख्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग करिब पाँच घण्टापछि एकातर्फी खुलेको छ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-२ मा पर्ने परेवा भिरमा खसेको पहिरोका कारण सोमबार साँझ करिब साढे सात बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
जसले गर्दा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागी आएका सयौँ सवारीका साधनहरूमा यात्रा गर्ने हजारौँ यात्रु सडकमा नै रोकिएको थियो । इलाका प्रहरी कार्यालय गजुरीसहितको टोलीले गजुरी गाउँलेकाको जेसिभी डोजरको सहयोगमा पाँच घण्टा पछि सडक एकातर्फ खुलाउन सफल भएको हो ।
पर्व नजिकिँदै गर्दा राजमार्गमा सवारी चाप बढेको छ तर बिग्रिएको सडकमा यात्रा गर्न निकै जोखिम भएकोले थप समस्या आएको छ । इलाका प्रहरी गजुरीका प्रमुख डिल्लीनारायण पाण्डेले सडक निकै जोखिम भएकोले रातको समयमा यात्रा गर्दा निकै सजग हुन सवारी चालकहरूलाई अनुरोध गरेको बताए । सडक आज दिनभरिमा दुबैतर्फ सञ्चालनमा ल्याइसक्ने पनि प्रमुख पाण्डेले बताए ।
दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
नवलपरासीको जङ्गलमा बाटो भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण बर्दघाट नगरपालिका-४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा सोमबार साँझ ५ बजेतिर सडक भासिएको हो ।
सडक भासिएर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । उनका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ ।
बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युतको ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीले प्रयास गरिरहेको उनले जानकारी दिए ।
यसैबीच सड्क भासिएर अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सड्कको मर्मत शुरू भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए ।
राति साढे ११ बजेदेखि मर्मत शुरू गरेको उनले जानकारी दिए । मंगलबार बिहानसम्म मर्मत सम्पन्न गरी नियमित सडक सञ्चालन गर्नेगरी काम भइरहेको प्रहरी उपरीक्षक फुयालले बताए ।
