आज महाअष्टमी र महानवमी पर्व : दुर्गा भवानीको विशेष पूजा गरी मनाईंदै

काठमाण्डौ : असोज शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी र नवमीका दिन मनाइने महानवमी पर्व आज एकै दिन परेको छ । महाअष्टमी र महानवमी पर्व विशेष पूजा गरी मनाईंदैछ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ। आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

आजैका दिन राति कालरात्रीको विधि र पूजासहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । आजका दिन काठमाण्डौ उपत्यका लगायत देशभरका शक्तिपीठ र देवी मन्दिरमा पूजा गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्छ ।

आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पूजा गर्ने गरिन्छ । आज पूजा कोठामा आआफ्नो कुल परम्परा अनुसार काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि चढाई पूजा गर्ने समेत चलन छ ।

आजै महानवमी पर्व पनि परेको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्ने गर्छ। दशैँको मुख्य दिन भोलि विजयादशमी पर्व मनाइन्छ ।

Deep Jyoti Pustak psl
Loading...