मन्त्री हुने चर्चामा आएका सुनार दुईवटा मुद्दाका फरार अभियुक्त

काठमाडौँ : अन्तरिम सरकारको मन्त्री हुने चर्चामा आएका खगेन्द्र सुनार दुईवटा मुद्दाका फरार अभियुक्त रहेको केन्द्रीय प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम सीआरएस ले देखाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखा स्रोतका अनुसार दुईवटा अभियोगमा कैद भुक्तान गर्न बाँकी अर्थात् फरार अभियुक्तका रुपमा सुनारको नाम देखिएको हो। उनी विरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको तर मुद्दा फर्स्यौट नभएको प्रहरी रेकर्डमा छ।

यस्तै जिल्ला अदालत सुर्खेतले २०८१ असार २१ मा जारी गरेको पक्राउ पुर्जीका आधारमा पनि उनी पक्राउ पर्न बाँकी र सजाय भुक्तान गर्न बाँकी देखिने प्रहरी स्रोतले जनाएको छ। अदालतले सुर्खेत प्रहरीलाई पक्राउ पुर्जीबारे २०८१ मंसिर २१ गते पनि ताकेता गरेको थियो। सुनारमाथि सुर्खेतमा मेहेलकुना अस्पतालका प्रमुख डाक्टर सोजन सापकोटामाथि हातपात तथा स्वास्थ्य संस्था तोडफोडको अभियोगमा पक्राउ पुर्जी जारी भएको हो।

सुनारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दासमेत रहेको पाइएको छ। अधिवक्ता मनिषा गौतमले हालेको मुद्दामा गत असोज ६ गते पेसी तोकिएको भए पनि सर्वोच्च अदालत जलेपछि स्थगन भएको थियो।

नवराज विकको मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको फैसला चित्त नबुझेपछि सुनारले अदालतबाहिर वितन्डा मच्चाएका थिए। उनले अदालत परिसरमा हुलहुज्जत र गेटमा तोडफोड गर्नुका साथै न्यायाधीशहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्तिहरू दिएपश्चात गौतमले मानहानीको मुद्दा हालेकी हुन्। गत वैशाख २१ मा सो मुद्दा दर्ता भएको रेकर्ड गौतमले राखेकी छन्।

सर्वोच्चले प्रतिवादी सुनारलाई झिकाउने आदेश दिएको थियो। सोपश्चात सुनारले सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानलाई पनि गालीगलोज गरेर लेखेका थिए। त्यसपछि अदालतले टिप्पणी उठाएर मुद्दा दर्ता गरेको थियो।

Dhn_Tihar & Chhat 2082
Loading...