अत्तरिया : कैलालीको अत्तरिया बसपार्कमा आउँदै गरेको चुनावलाई लक्षित गर्दै तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ चेकजाँच सुरु गरिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयको समुन्वयमा अत्तरिया बसपार्कमा तालिमप्राप्त कुकुर प्रयोग गरी ठुलो सामान र बसहरूको चेकजाँच गरिएको हो ।
आउदो फागुन २१ गते हुन लागेको चुनावलाई शान्तिपूर्ण र सुरक्षित बनाउन हातहतियार, विष्फोटक पदार्थ तथा लागुऔषध चेकजाँचमा कडाई गरिएको ईप्रका मालाखेती अत्तरियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले बताएका छन् । उनले प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर मगाई बसपार्क भएर लामो तथा छोटो दूरीमा चल्ने बसहरूमा स्किनिङ गरिएको बताए ।
मानिसबाट गरिने चेकजाँचभन्दा कुकुरद्वारा गरिने खोजतलास अझ प्रभावकारी हुने भएकाले यो विधि अपनाइएको डीएसपी चन्दले बताएका छन् । उनले हप्तामा एक दिन यो अभियान जुनसुकै समयमा पनि निरन्तर सञ्चालन गरिने बताए । आज (सोमबार) गरिएको स्किनिङमा एक दर्जनभन्दा बढी सवारी साधन चेकजाँच गरिएको तर कुनै पनि त्यस्तो संकास्त वस्तु फेला नपरेको डीएसपी चन्दले बताएका छन् । चुनाव नजिकिँदै जाँदा सुरक्षा सतर्कता अझ प्रभावकारी बनाइने उनको भनाई छ ।