विद्यार्थीलाई धुम्रपान तथा मद्यपानजन्य पदार्थ नबेच्न दुर्गालक्ष्मीको आग्रह

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-२ अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई धुम्रपान, मद्यपान लगायतका पदार्थ बिक्री-वितरण नगर्न होटल तथा नास्ता पसल व्यवसायीलाई आग्रह गरेको छ ।

विद्यालयले बुधबार एक पत्र सार्वजनिक गर्दै अत्तरिया क्षेत्रका होटल तथा नास्ता पसल व्यवसायीलाई विद्यालय समय तथा अन्य समयमा समेत विद्यार्थीलाई लक्षित गरी यस्ता पदार्थको कारोबार नगर्न अनुरोध गरेको हो ।

विद्यालयका प्रधानाध्यापक वीरसिंह महताद्धारा हस्ताक्षरित पत्रमा केही होटल तथा नास्ता पसल व्यवसायीले विद्यालय पोसाकमै रहेका विद्यार्थीलाई धुम्रपान तथा मद्यपानजन्य पदार्थ बिक्री-वितरण गर्ने गरेको भन्दै अभिभावकबाट लिखित गुनासो आएको उल्लेख गरिएको छ ।

विद्यालयले बालबालिकाको भविष्य निर्माणमा सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको भन्दै व्यवसायीलाई आफ्नै बालबालिकालाई जस्तै विद्यार्थीको हित र भविष्यलाई ध्यान दिन आग्रह गरेको छ । विद्यालयले उक्त विषयमा मालाखेती इलाका प्रहरी कार्यालय, अत्तरिया उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ अत्तरिया संग आवश्यक समन्वय गरेको पत्रमा उल्लेख छ ।

विद्यालयले विद्यार्थीलाई विद्यालय पोसाकमा रहेका बेला मात्र नभई समग्र रूपमा बालबालिकालाई धुम्रपान तथा मद्यपानजन्य पदार्थबाट टाढा राख्न सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ ।

Loading...