धनगढी : असोज ९ गतेदेखि १२ गतेसम्म अत्यधिक वर्षा हुने पूर्वानुमानपछि धनगढी उपमहानगरपालिकाले बाढी तथा डुबानबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।
अत्यधिक वर्षाका कारण बाढी, डुबान तथा अन्य विपद्का घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरपालिकाका नगर प्रहरीले जोखिमयुक्त क्षेत्रमा माइकिङमार्फत स्थानीयवासीलाई सचेत गराउन थालेका छन् । नगर प्रहरी टोलीले धनगढीका वडा नम्बर १४, १५, १६, १७, १८ र १९ का विभिन्न स्थानमा पुगेर बाढी तथा डुबानबाट जोगिन पूर्वतयारी गर्न, सतर्क रहन र आवश्यक सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ ।
वर्षाका कारण नदी, खोला तथा नालामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सावधानी अपनाउन र अत्यावश्यक सामग्री तथा कागजात सुरक्षित राख्न नगर प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै, घर वरपरका नाला तथा पानी निकासका संरचना सफा राख्न, विद्युत् तथा अन्य जोखिमयुक्त संरचनाबाट टाढा रहन र बाढी तथा डुबानको अवस्था देखिएमा स्थानीय तह तथा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन आग्रह गरिएको छ ।
सम्भावित विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारी महत्वपूर्ण हुने भन्दै उपमहानगरपालिकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमको अवस्थाबारे नियमित जानकारी लिन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ ।