कांग्रेसले पुस १६ देखि एक महिने आन्तरिक अभियान सञ्चालन गर्ने

काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेसले पुस १६ देखि एक महिने आन्तरिक अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । यस्तै कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सारेको छ । बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको बताए । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर सो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गते सम्म पुर्‍याएको थियो । उनले बैठक सार्नुको कारण राष्ट्रिय सभाको निर्वाचन रहेको बताए ।

कांग्रेसले राष्ट्रियसभा सदस्यको निर्वाचनअघि एक महिने संगठन सुदृढिकरण अभियान सन्चालन गर्ने भएको छ । शुक्रबारको बैठकले आगामी पुस १६ देखि माघ १६ सम्म ‘विशेष आन्तरिक अभियान’ सञ्चालन गर्ने निर्णय गरेको नेता विश्वकर्माले बताए । त्यस्तै बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्थाहरु महासमितिमा सिफारिस गर्ने निर्णय भएको बताए ।

भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपैयाँ दिन अझै नसकेको बारे सरकारको ध्यानार्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय भएको पनि बताए ।

‘राष्ट्रिय सभाको निर्वाचन आएको हुनाले महासमितिको बैठकलाई केही पर सार्ने फागुन ७ देखि १० गतेसम्म गोदावरीकै हलमा गर्ने निर्णय गरेको छ । त्यसैसँग जोडिएका विषयमा राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने प्रक्रिया हुन्छ । दल दर्ता गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘उम्मेदवार बनाउँदा हस्ताक्षर सभापति शेरबहादुर देउवाको चल्ने भन्ने निर्णय भएको छ । यसको सम्पूर्ण व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको छ । केन्द्रीय कार्यसमितिको बैठक अर्को पुस १२ गते बस्दैछौँ । विधानका केही व्यवस्थाहरु महासमितिमा सिफारिस गर्नुपर्ने हुन्छ ।’

उनले पार्टीका विधानमा रहेका केही अनुसूचिहरु परिमार्जन गर्ने, पार्टीको तर्फबाट समानुपातिकको बन्दसूचीमा रहेका केही केन्द्रीय सदस्यहरूको नाम आजै फिर्ता लिने निर्णय भएको पनि बताए । उनले बारामा शिक्षकहरूको शान्तिपूर्ण धर्नामा भएको घटनाको भर्त्सना गर्ने र तत्काल दोषीमाथि कारबाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उच्चस्तरीय स्वास्थ्योपचार गर्नका लागि माग गर्ने निर्णय भएको पनि बताए ।

Deep Jyoti Pustak psl
Loading...