अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको छैठौ दिन आज नायक पल शाह लगायतका कलाकारहरुकोे प्रस्तुती रहने भएको छ ।
आज महोत्सवमा गायिका एलिना चौहान, अनिता चलाउने, सृजना खत्री, लोकदेउडा गायक भुवन दाहाल, डान्सर दुर्गा भट्टको प्रस्तुती रहने आयोजक अत्तरिया उद्योग वाणिज्य संघका सांस्कृतिक संयोजक रमेश भट्टराईले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा राष्ट्रिय एवम् स्थानिय चर्चित कलाकारहरूको बेजोड प्रस्तुतिका साथै बिभिन्न क्लब र बिद्यालयहरुको नृत्य प्रतियोगिता समेत रहेको छ । महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, रमाईलो मेला, थारु सँस्कृति तथा परिकार सहितको थारु गाउँ लगायत मुख्य आकर्षणका रुपमा रहेका छन् ।
महोत्सवमा बिद्यार्थीहरुलाई ५० रुपैया टिकट र अन्यलाई १०० रुपैया तोकिएको छ भने अपांगता भएका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरिएको आयोजकले बताएको छ । यही पुष २६ गतेदेखी सुरु भएको महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।
समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ २०७२ सालबाट शुरु भएको महोत्सव अहिले आठौं संस्करणको रुपमा सञ्चालन भएको छ ।
अत्तरिया स्थित पूर्वरोडको लामिताल परिसर पुरानै स्थानमा महोत्सव सञ्चालन भईरहेको छ ।